Salt 2 Rs 5 to Rs sugar, edible oil and balckgram Rs 10 to Rs 10 discount will follow
नुन, तेल, चिनी, दाल किन्न दसैंका लागि खुल्ने सहुलियत पसल खुल्ने समय कुर्दै हुनुहुन्छ? व्यवसायीले बुधबार गरेको निर्णय कार्यान्वयन हुने हो भने अब घर छेउमै सामान छुट पाउन सकिने छ। चाडपर्वको अवसरमा सरकार र व्यापारीबीच केही सामानमा सबै खुद्रा पसलमा छुट दिने समझदारी भएको छ।
बुधबार आपूर्तिमन्त्री दीपक बोहरा र खुद्रा व्यापार संघका अधिकारीबीच भएको छलफलमा यस्तो समझदारी भएको हो। जसअनुसार नुनमा २ रुपैयाँ चिनीमा ५ रुपैयाँ, खाने तेलमा १० रुपैयाँ र दालमा १० रुपैयाँ छुट पाइनेछ। 'खुद्रा व्यापारीले पनि नुन, चिनी, तेल, दालमा छुट दिनेछन्। भाटभटेनी सुपर मार्केटले २ सय ४० प्रकारको खाद्यान्नमा करिब १५ प्रतिशत छुट दिने समझदारी भएको छ,' आपूर्तिमन्त्री बोहराले भने, 'यसपालिको चाडपर्वमा सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउँछौं। नयाँ मूल्य असोज १ देखि नै लागु हुन्छ।'
खुद्रा व्यापार संघका अध्यक्ष पवित्रा बज्राचार्यका अनुसार प्रतिलिटर १ सय २० देखि २५ रुपैयाँ पर्ने सोयाबिन तेल १ सय १० रुपैयाँ, ८५ रुपैयाँ पर्ने चिनी ८० रुपैयाँ र १८ रुपैयाँ पर्ने नुन १६ रुपैयाँमा बिक्री हुनेछ। यसका लागि साल्ट ट्रेडिङले ५ हजार बोरा -२ सय ५० क्विन्टल) चिनी, ३ हजार बोरा -एउटा बोरामा ५० किलो) नुन र १ लाख लिटर तेल संघलाई बिक्री गर्नेछ। सोहीअनुसार खुद्रा व्यापारीले सर्वसाधारणलाई छुट दिनेछ।
संघले सूर्यमुखी र तोरीको तेलमा भने छुट दिएको छैन। घिउ, तेल उद्योग संघले छुट दिन अस्वीकार गरेकाले छुट दिन नसकेको जनाएको छ। 'घिउ तेल उद्योगले छुट दिन मानेन,' अध्यक्ष बज्राचार्यले भने, 'जसले गर्दा सूर्यमुखी र तोरीमा छुट दिन सकेनौं।' यता मन्त्रालयले भने सनफ्लावर तेलमा पनि घटाउने गृहकार्य जारी रहेको जनाएको छ। तर, यो निर्णय कार्यान्वयन हुन कठिन रहेको बजार विज्ञ बताउँछन्। कार्यान्वयन हुन खुद्रा व्यापारीको इमान्दारिता आवश्यक हुने उनीहरूको भनाइ छ।
यसबाहेक सरकारले पनि असोज १ गतेदेखि आफैं उपत्यकाको ११ ठाउँमा मात्रै सहुलियत पसल सञ्चालान गर्ने जनाएको छ। यस्ता पसलबाट चाडपर्वमा चाहिने आवश्यक खाद्यान्न, खसीबोकालगायत बिक्री हुनेछन्।
पसलका लागि नेसनल टे्रडिङ, साल्ट ट्रेडिङ र खाद्य संस्थानले व्यवस्थापन गर्दै आएका छन्। साल्ट टे्रडिङले नुन, चिनी, चामल, पिठो, मैदा, दाल, गेडागुडीको व्यवस्था मिलाउँछ। साल्टले प्रतिकिलो चिनीमा ५ रुपैयाँ छुट दिनेछ। नुनमा प्रतिकिलो २ रुपैयाँ छुट दिइनेछ। नेसनल ट्रेडिङले विद्युतीय सामान, मेसिनेरी पार्टपुर्जा उपलब्ध गराउँदै आएको छ। खाद्य संस्थानले चामल र गहुँ उपलब्ध गराउँछ। संस्थानले १५ थरीका चामल, फापर र सिमीमा प्रतिकिलो ५ रुपैयाँँ छुट दिनेछ। दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो १० रुपैयाँ छुट दिनेछ।
११ ठाउँमा मात्रै सञ्चालन गर्दा सहुलियत पसल सबै सर्वसाधारणको पहुँचभित्र नरहेकाले संघले खुद्रा पसलबाट पनि छुट दिने तयारी गरिएको सरकारी दाबी छ। संघले दाल र चामलको मूल्य पनि घटाउने तयारी गरेको छ। 'दाल, गेडागुडी र चामलको हकमा बिहीबार खाद्य किराना व्यवसायीसँग छलफल गर्दै छौं,' संघका उपाध्यक्ष रामकृष्ण मानन्धरले भने, 'कतिसम्म छुट दिन सकिने बिहीबार नै निर्णय गर्छौं।' संघका अनुसार हरेक चामलको बोरामा एमआरपी उल्लेख हुन्छ। उल्लेखित एमआरपीमा २० देखि २५ रुपैयाँ छुट दिने तयारी छ। यस्तै दाल पनि किलोमा १० रुपैयाँदेखि १५ रुपैयाँसम्म छुट दिने तयारी भएको अध्यक्ष बज्राचार्यले बताए। संघसँग करिब ३ हजार ५ सय किराना पसल आबद्ध छन्। ती पसलबाट छुट दिइने जनाएको छ।
'सर्वसाधरणलाई सहज बनाउन सबै पसलमा अनिर्वाय ब्यानर राख्नेछौं,' उनले भने, 'ब्यानर भएपछि पहिचान गर्न सजिलो हुन्छ। सर्वसाधारण ठगिनबाट जोगिनेछन्।' यसअघि मन्त्रालयले व्यवसायीहरूसँग चाडपर्वमा घटाउन सक्ने खाद्यलगायत अत्यावश्यक वस्तुको मूल्यको विवरण माग गरेको थियो। 'चाडपर्वमा मिसावट, कृत्रिम अभाव हुन दिँदैनौं,' मन्त्री बोहराले भने, 'यसका लागि सबै निकायसँग छलफल भइसकेको छ।'
मन्त्रालयले उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, खुद्रा व्यापार संघ र डिपार्टमेन्टल स्टोर सहितका अधिकारीसँग भएको छलफल चाडपर्वमा केेही मात्रामा मूल्य घटाउने निर्णय भएको थियो। सोहीअनुसार खुद्रा व्यापार संघले मूल्य घटाएको हो। चाडपर्वकै लागि मन्त्रालयले इन्धनको मूल्य करिब ५५ दिन नबढाउन आयल निगमलाई निर्देशन दिएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाइसकेको छ। हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँँ छ। दुर्गम क्षेत्रमा चामलमा प्रतिकेजी १० रुपैयाँँ मूल्य छुट दिने निर्णय बुधबारको मन्त्रिपरिषद्ले गरेको छ।
0 comments:
Post a Comment