हिन्दूहरुको प्रमुख चाड दसैँ सुरु हुन अझै दुई हप्ता भन्दा धेरै छ । तर गोरखाका विभिन्न गाउँमा भने धमाधम अहिले नै दसैँ मनाईसके ।
उनीहरुले कुनै जबरजस्ती वा परिबन्दमा परेर होइन, मन्दिरमा घटस्थापना गरेर, दैनिक दूर्गा भवानीको पूजा गरेर अनि दशमीको दिन टीका र जमरा लगाएर उनीहरुले दसैँ मनाएका हुन् । अहिले कार्यान्वयनमा रहेको पात्रोलाई समयानुकूल परिमार्जन गर्नुपर्ने भन्दै उनीहरुले एक महिना अघिनै दसैँ मनाएका हुन् । पर्व सुधारका लागि भदौ महिनामै दसैँ मनाउनु परेको उनीहरुको तर्क छ । पर्व सुधारको अभियान, राष्ट्रिय अभियानका रुपमा अघि बढाउन दबाब दिने उद्देश्यले भोज भतेरसहित टीका लगाएका हुन् ।
जिल्लाको सदरमुकामसहित आसपासका ५ गाविसका १५ हजारभन्दा धेरैले भदौ २६ गते दशमीको दिन टीका जमरा र प्रसाद ग्रहण गरेर दसैँ मनाएका हुन् ।
लामो समयदेखि पर्व सुधारको अभियानमा लाग्दै आएका ईन्जिनियर हरि मल्लको अगुवाइमा चार वर्षदेखि गोरखाका विभिन्न ठाउँमा बर्षेनी सामुहिक रुपमा विजयादशमी आउनु एक महिना अघि नै टीका लगाउन थालिएको छ ।
किन एक महिनाअघि नै दशैं ?
हिन्दू धर्मावलम्बीहरु आफ्ना सबैजसो संस्कार पात्रोका आधारमा गर्छन् । पात्रो अर्थात पञ्चाङग निर्माणको आधार सूर्य लगायत ग्रहलाई आधार मानेर गरिन्छ । जसलाई समग्रमा खगोल विज्ञान भनिन्छ ।
खगोल विज्ञानलाई आधार मान्ने हो भने २४ घण्टाको एक दिन भनिएपनि ३ दशमलव २७ सेकेण्ड समय अपुग हुन्छ । दिनदिनै यति समय घट्दै जाँदा ७२ वर्षमा एक दिन कम हुने गोरखामा पर्व सुधारको अभियान चलाउँदै आएका किशोर रेग्मी बताउनुहुन्छ । नेपालको पात्रो २ हजार वर्षदेखि अद्यावधिक नगरिएको भन्दै उहाँ भन्नुहुन्छ, “२ हजार वर्षमा २७ दिन हराइसक्यो, त्यसैले पात्रोमा सुधार गर्नु जरुरी छ ।”
इन्जिनियर हरिनारायण मल्ल लगायतले झण्डै एक दशकअघि यही तर्क पञ्चाङग निर्णायक समितिमा राखे । समिति पनि पात्रो सुधारका लागि राजी भएपछि २०६७ सालमा मन्त्रिपरिषदमा एउटा प्रस्ताव पुग्यो ।
सबै ज्योतिषसँग बसेर पञ्चाङग निर्णायक समितिले निर्णय गरेर मन्त्रिपरिषदमा पठाएको त्यो प्रस्तावमा पात्रो मिलाउनका लागि चैत महिना हटाएर एकै पटक बैशाख शुरु गर्ने लगायतका कुरा उल्लेख गरिएको थियो । तर मन्त्रिपरिषदले स्विकृत गरेको प्रस्ताव कार्यान्वयनमा आउन सकेन । त्यसको कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्व सुधार राष्ट्रिय कार्यान्वयन समिति पनि बनेको छ । सहसचिवको नेतृत्वमा बनेको समितिमा ज्योतिषहरु पनि आवद्ध छन् ।
मन्त्रिपरिषदको त्यो निर्णय समेतलाई आधार मानेर एक महिनाअघि दसैँ मनाउन थालिएको पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिका सदस्यहरु बताउँछन् । अधिकारकर्मी रेग्मीको तर्क छ, “सूर्य मकर रेखामा प्रवेश गरेको भनेर माघ १ गते मकर सँक्रान्ति मनाइन्छ, तर पात्रोमा हेर्ने हो भने सूर्य पुष ६ गतेनै मकर रेखामा पुग्छ ।” त्यसैले पात्रोबाट एक महिना झिकेपछि सबै पर्व विज्ञानसम्मत रुपमा मनाउन सकिने उहाँको भनाई छ ।
अहिले दसैँ मनाएकाहरुले एक महिनापछिको दसैँ पनि मनाउने बताएका छन् ।
“सरकारले एक महिनापछि बिदा दिन्छ” अभियन्ता रामबाबु श्रेष्ठ भन्नुहुन्छ, “छोराछोरी, भाञ्जाभाञ्जी सबै त्यतिबेलै आउँछन्, अनि फेरि मनाउन परिहाल्यो नि ।”
गोरखाका युवा ज्योतिष हरि सोडारीलाई पनि पात्रो सुधार गर्नु पर्छ भन्ने लागेको छ । तर पात्रो सुधार गर्दा मौसमलाई पनि ध्यान दिनुपर्ने उहाँको विचार छ । उहाँ भन्नुहुन्छ, “तर दसैँलाई मात्रै निशाना बनाउनु भएन नि ?” “पर्व र पात्रो सुधार भन्दै हचुवाका भरमा भदौमा दसैँ मनाउने हो भने धान गोड्न जाने कि दसैँ मान्ने ?”
0 comments:
Post a Comment