Bhanyohinjina documents of the team is failing kasthamandapa accident
काठमाडौः एयर काष्ठमण्डपको विमान कालिकोटमा इन्जिन फेल भएर दुर्घटनामा परेको तथ्य सार्वजनिक भएको छ । छानबिन समितिले यस्तो निस्कर्ष निकालेको हो । गत फागुन १४ गते काष्ठमण्डपको जहाज कालिकोटको चियाखोलामा दुर्घटनामा परेको थियो ।
छानबिन आयोगले आइतबार पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई जहाज दुर्घटनाको प्रारम्भिक प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष यज्ञबहादुर शाहीले जहाज उड्दा उड्दै इन्जिन फेल भएपछि दुर्घटनामा परेको बताए । दुर्घटनामा परेको काष्ठमण्डपको ‘प्याक ७५० एक्सएल’ सिंगल इन्जिन विमान हो ।
विमान बिहान सवा १२ बजे नेपालगन्जबाट जुम्लातर्फ उडेको थियो । करिब आधा घन्टापछि विमान दुर्घटनामा परेको अनुमान गरिएको छ । आयोगको प्रतिवेदनअनुसार जुम्लाका लागि उडेको विमान दैलेखको हाउडेलेक आसपासमा पुग्दा प्राविधिक समस्या आएर इन्जिनले पूर्णरूपमा काम गर्न छोड्यो । पाइलटले इन्जिनलाई पुनः सञ्चालन गर्न प्रयास गरिरहे । तर, त्यो सम्भव नभएपछि पाइलटले जहाज ग्लाइड (बेलुनजस्तै उडाएर) गरेर नजिकै फोर्स ल्यान्डिका लागि उपयुक्त ठाउँ खोजे ।
कालिकोटको चियाखालामा विमानलाई फोर्स ल्यान्डिङ गराउँदा भिरालो जमिन र कान्लासहितको गराका कारण विमान भित्तामा ठोक्किएर दुर्घटनामा परेको अयोगको प्रतिवेदनमा उल्लेख छ । इन्जिनमा समस्या भएपछि पाइलटले इमर्जेन्सी पोर्सिडियर अन्तर्गत विमानलाई करीव पाँच मिनेट ग्लाइड गरेर ८ नटिकल माइलको दूरी पार गराएका थिए ।
विमानको अगाडिको भाग ठोक्किएपछि क्याप्टेन दिनेश न्यौपाने र कोपाइलट सन्तोष राना किच्चिन पुगे । ‘क्याप्टेन न्यौपानको तत्कालै निधन भयो भने कोपाइलट रानाको उद्दारमा ढिलाइ हुँदा करिब डेढ घन्टापछि निधन भयो’, आयोगको प्रतिवेदनमा उल्लेख छ । पाइलटले विमानमा सवार एक नावालकसहित ९ जनाको ज्यान भने जोगाउन सफल भएका थिए ।
छानबिन आयोगले आइतबार पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई जहाज दुर्घटनाको प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।
पाइलटले विमान र यात्रु दुवैलाई सुरक्षित राख्न प्रयास गरेको छानबिन आयोगको निस्कर्ष छ । विमानको इन्जिनभित्र रहेका ६ वटा बेरिङमध्ये पहिलो नम्बरको बेरिङ ड्यामेज हुँदा इन्जिन फेल भएको बताइएको छ । ‘काष्ठमण्डपले सो इन्जिन अस्ट्रेलियन कम्पनीबाट भाडामा लिएको र उक्त इन्जिन भाडामा दिनुपूर्व अमेरिकाको एयरफोर्स टुर्वाइन सर्भिस (एटिएस)मा सन् २०१५ डिसेम्बरमा ओभरह्युल भएको देखिन्छ’, प्रतिवेदनमा उल्लेख छ ।
आयोगले विमानको इन्जिन क्यानडामा लगेर परीषण गरेको अध्यक्ष गौतमले जानकारी गराए । जहाज दुर्घटनाको तेस्रो दिन फागुन १६ गते गठन गरिएको चार सदस्यीय छानबिन आयोगले लामो समय लगाएर प्रारम्भिक प्रतिवेदन तयार पारेको हो । क्यानडाको ल्याबमा लगेर इन्जिन परीक्षण गर्नुपर्दा लामो समय लागेको गौतमको भनाइ छ ।
आयोगले एयर काष्ठमण्डपको लापरबाहीका कारण पनि विमान दुर्घटनामा परेको ठहर गरेको छ । कम्पनीले नियमित रुपमा चेकजाँच गर्नुपर्ने इन्जिन जाँच नगरेको भेटिएको छ । यस्तै, आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमनमा पनि प्रश्न तेर्साएको छ ।
नेपालको पहाडी तथा हिमाली बेल्ट जोखिमपूर्ण रहेको बताउँदै आयोगले आकस्मिक अवतरणका लागि तल खुला ठाउँ आवश्यक रहेको औंल्याएको छ । आकस्मिक अवतरण गर्ने ठाउँ नहुँदा माथिल्लो बेल्टमा बढी दुर्घटना हुने गरेको आयोगको ठहर छ । काष्ठमण्डप दुर्घटनामा पनि आकस्मिक अवतरण गर्ने ठाउँको अभाव देखिएको छ ।
प्रतिवेदन ग्रहण गर्दै मन्त्री शाहीले अयोगले दिएका सुझाव कार्यान्वयन गर्न निर्देशन दिए । जहाज दुर्घटना बढेको बताउँदै उनले यसलाई कम गर्न आवश्यक कदम चाल्न पनि निर्देशन दिएका छन् । उनले यही वर्षभित्र स्वतन्त्र आयोग गठन गरी हवाई दुर्घटना घटाउन पहल गर्ने आश्वासनसमेत दिएका छन् ।
0 comments:
Post a Comment