कांग्रेसले सरकारमा सहभागी हुने १३ जना मन्त्रीको नाम टुंगो लगाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेल समूहलाई पाँच मन्त्री दिने सहमति गरेपछि मन्त्रीको नाम टुङ्गो लागेको हो ।
देउवाले ६, पौडेलले पाँच, नेता कृष्णप्रसाद सिटौलाले एक र अर्का नेता खुमबहादुर खड्काले एक गरी १३ मन्त्री पाउने भएका छन् । यसअनुसार देउवाले परराष्ट्र मन्त्रीमा डा.प्रकाशसरण महतलाई पठाउने निर्णय गर्नुभएको छ ।
यस्तै रक्षामा बालकृष्ण खाँड, शहरी विकासमा अर्जुननरसिंह केसी, पर्यटनमा जीवनबहादुर शाही, श्रममा सूर्यमान गुरुङ र सामान्य प्रशासनमा केशवकुमार बुढाथोकी मन्त्री हुने भएका छन् ।
त्यस्तै पौडेल पक्षबाट दिपक गिरी सिंचाई, हृदयराम थानी गरिबी निवारण तथा सहकारी, नविन्द्रराज जोशी उद्योग, रोमी गौचन थकाली वाणिज्य र सीतादेवी यादव शान्ति मन्त्री हुने भएका छन् । सिटौलाको सिफारीसमा युवा नेता गगन थापा स्वास्थ्य मन्त्री तथा खड्काको सिफारिसमा शंकर भण्डारी वन मन्त्री हुने भएका छन् । उनीहरुले शुक्रबार नै शपथ लिनेछन् ।
यसअघि कांग्रेसबाट उपप्रधान एवम् गृहमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातयात मन्त्रीमा रमेश लेखक गैसकेका छन् । योसँगै कांग्रेसबाट मन्त्री बन्नेको संख्या १५ पुगेको छ ।

0 comments:
Post a Comment