Flashlight lamp were looking for more return, police rescued
पाँच जनाको परिवार पोखरा जान रौतहटबाट बस चढेका थियौँ । मेरो घर भारतको सितामाडी हो । पोखराको दुलेगौंडामा सामान्य किराना पसल चलाउँदै आएको छु । रौतहटको गौरबाट श्रीमती सुगन्धी, दुई वर्षको छोरो आकाश, चार वर्षकी छोरी श्वेता र सालो राकेश रौतहटबाट पोखरा जान बिहान ५ बजे बस चढेका थियौं ।
हामी चढेर आएको बस बाटोमा ठाउँ ठाउँमा रोकेको थियो । हेटाैडामा १० बोरा तरकारी राखेको थियो त्यसपछि गाडी अगाडि बढ्यो । रातको समय भएका कारण निन्द्रा लाग्यो । बसमै म पनि निदाएँ ।
बस घरक्क गरेकोसम्म मात्र याद छ । रातको तिन बजेतिर होला । बोल्न सक्ने अवस्थामा थिइनँ । यता उता छामेँ बसको छत जस्तो लाग्यो । बस दुर्घटना भएर त्रिशुली नदीमा खसेको बल्ल थाहा पाएँ । बस पानीमा डुब्दै गयो । म बसको डण्डी समाएर बसेको थिएँ । म नदीको पानीले पुरै भिजेको थिएँ । शरिरमा चोट लागेका कारण दुखेको थियो । बचाउ भन्दै कराएँ । सुन्ने कोही थिएन । टाढा सडकबाट टर्च बालेर हेर्नेहरु देखेको थिएँ ।
म र परिवार बसको बिच भागको सिटमा बसेका थियाँै । बस पल्टिएपछि पानीमा खस्दा छतमा परेछु । केही समय पछि बल्ल प्रहरीले मलाई निकाले । सँगै यात्रा गरिरहेका छोराछोरी श्रीमती कहाँ थिए थाहा पाइनँ । अहिले पनि सँगै यात्रा गरेका परिवारको अवस्था बुझ्न सकेको छैन । काँहा छन् थाहा छैन । श्रीमती छोराछोरीलाई यही अस्पतालमा ल्याएको डाक्टरले बताएका छन् । सालोको अवस्था के छ थाहा पाउन सकेको छैन ।
खुट्टा र हातमा चोट लागेको छ । कतै घाउ भएको छ भने कतै ठोक्किएर दुखेको छ । यात्राको बेला निदाएको थिएँ । कसरी दुर्घटना भयो थाहा भएन । निन्द्राबाट बिउझिँदा पानीमा रहेकोले के के भयो भन्न सक्ने अवस्था भएन । अहिले यहाँ भरतपुरको चितवन मेडिकल कलेजमा उपचार गराई रहेको छु ।

0 comments:
Post a Comment