‘यो संसारमा आफ्नो कोहि छैन । म कसरी यो अस्पतालबाट बाहिर जाउँ ? पकेटमा ५ रुपैयाँ पनि छैन । तिर्नु ६० हजार छ । अब के गरौं ? सुरुमा त छिमेकीले चन्दा उठाएर सहयोग गरी यहाँ ल्याए । अब मलाई कसले सहयोग गर्छ ?’
वीरु नेपाली मजदुरी गरेर आफू र ६० वर्षकी दृष्टिविहिन आमाको छाक टार्नुहुन्थ्यो । तर उहाँ आफै सहाराविहीन हुनुभयो । मजदुरी गर्दागर्दै खुट्टामा गम्भीर चोट लागेपछि थला पर्नुभयो ।
उपचार गर्ने पैसा नभएर अस्पतालमा छट्पटाइरहेका वीरुलाई उहाँका छिमेकीले सहयोग गरे । घुँडामा चोट लागेर थला परेका जाजरकोट भेरीमालिका नगरपालिका–३ सिमलगैरीका ३० वर्षका वीरुको जाजरकोटमा उपचार हुन नसकेपछि चन्दा संकलन गरी काठमाडौं ल्याइयो ।
उपचार गर्ने पैसा नभएर अस्पतालमा छट्पटाइरहेका वीरुलाई उहाँका छिमेकीले सहयोग गरे । घुँडामा चोट लागेर थला परेका जाजरकोट भेरीमालिका नगरपालिका–३ सिमलगैरीका ३० वर्षका वीरुको जाजरकोटमा उपचार हुन नसकेपछि चन्दा संकलन गरी काठमाडौं ल्याइयो ।
विरुको जेठ २८ गते काठमाडौंको सुष्मा कोइराला मेमोरियल अस्पतालमा घुडाको अप्रेसन हुँदै थियो । घुडामा भएको ठूलो घाउको पीडा एकातिर थियो । त्योभन्दा ठूलो पीडा उहाँको जीवनमा थपियो । घुडाको उपचारका लागि अप्रेसन हुने दिन आमा लल्ती नेपालीको चिता खलंगाको कालेगाउँ स्थित भेरी नदीको किनारमा जल्दै थियो ।
एकातिर आमाको खबर । अर्काेतिर घुडामा असह्य पीडा । यसैकारण विरु निकै चिन्तामा हुनुहुन्थ्यो । उहाँमाथि अर्को संकट थपिएको छ । अस्पतालमा घुडाको घाउको उपचार गर्दा लागेको खर्च तिर्न नसक्दा वीरु ठूलो विचल्लीमा पर्नुभएको हो ।
आफूलाई सहयोग गर्ने कोहि पनि नभएपछि उहाँ ठूलो संकटमा पर्नुभएको हो । बुबा र आमा दुबै नभएका अति विपन्न परिवारका वीरु घुडामा भएको घाउको उपचारका क्रममा झण्डै तीन महिनादेखि काठमाडौंको सुष्मा कोइराला मेमोरियल अस्पतालमा हुनुहुन्छ । उहाँका न त आफन्त छन् न सम्पति नै । ज्याला मजदुरी गरेर दुई छाकको जोहो गर्ने वीरु अहिले थला पर्दा निकै समस्यामा पर्नुभएको हो ।
वीरुलाई अस्पतालमा अप्रेसन र वेड निःशुल्क गरिएको भएपनि हेरचाहमा बसेको साथी र होटेलमा खाएको खाना खर्च, मेडिकलमा औषधीको बिल, र अस्पतालको सेवा खर्च तिर्न नसक्दा अस्पतालबाट घर फर्कन त के बाहिर निस्कन समेत नसक्ने हुनुभएको छ ।
मजदुरी गर्ने क्रममा घुडामा चोट लागेर ठूलो घाउ बनेपछि अशक्त बनेका वीरु जिल्ला अस्पताल जाजरकोटको सिफारिस अनुसार काठमाडौंको सुष्मा कोइराला मेमोरियल अस्पतालमा गएको जेठ २५ गते पुर्याइएका थिए । पारीवारिक अवस्था निकै दयनीय भएका वीरुलाई छिमेकीले चन्दा उठाएर जम्मा भएको ३० हजार रुपैयाँले काठमाडौं पुर्याइएको एक छिमेकी उदाम नेपालीले बताउनुभयो ।
उपचार सकिएर घर फर्कने बेला हुन लागेपनि अस्पतालबाटै बाहिर निस्कन ६० हजार रुपैयाँ तिर्नु पर्ने भएपछि उहाँ बिचल्लीमा हुनुहुन्छ । पैसा नभएका कारण अस्प्तालमै बिचल्लीमा परेका वीरुले दिनमा चार पाँच पटक रुँदै फोन गर्ने गरेको र आफू पनि विपन्न भएका कारण सहयोग जुटाउन नसकेको उदामले बताउनुभयो ।
अस्पतालका एक डाक्टरले व्यक्तिगत रुपमा आठ हजार रुपैयाँ सहयोग गरेको भएपनि धेरै रकम तिर्नु पर्ने भएपछि आफूहरु समस्यामा परेको उहाँले बताउनुभयो ।
वीरु नेपालीले रुँदै भन्नुभयो, ‘मेरो यो संसारमा आफ्नो कोहि छैन । म कसरी यो अस्पतालबाट बाहिर जाउँ ? पकेटमा ५ रुपैयाँ पनि छैन तिर्नु ६० हजार छ । अब के गरौं ? सुरुमा त छिमेकीले चन्दा उठाएर केहि सहयोग गरेर यहाँ ल्याए । अब मलाई कसले सहयोग गर्छ ?’

0 comments:
Post a Comment