Aggravated human trafficking
सुनमाया तामाङ, उमेर ४५ वर्ष (नाम परिवर्तन) । उनले नेपालको शिक्षण अस्पतालमा १५ वर्षभन्दा बढी करारमा सरसफाइको काम गरिन् । मासिक ७ हजार रुपैयाँ पारिश्रमिक थियो । श्रीमान र दुई सन्तानसहित सुखी परिवार थियो । एकदिन मामा नाता पर्ने व्यक्तिले भने, ‘भान्जी तिमीसंँग यतिका वर्ष अस्पतालमा काम गरेको अनुभव छ । कति यहाँ दु:ख गर्छौ, बरु दुबईमा यतिकै काम गर्ने हो भने महिनाको ५० हजार कमाइ हुन्छ । यदि जाने हो भने मिलाइदिन्छु ।’ सुनमायाले भनिन्, ‘म कहिल्यै विदेश नगएको मान्छे । पासपोर्ट पनि छैन, अरबी भाषा ’नि बोल्न जान्दिन ।
यत्रो काम गरिसकेँ, छोराछोरी हुर्किसके । अब के गर्न जानु विदेश ?’ तर मामाले भने पुन: भने, ‘छोराछोरी हुर्केर मात्र हुन्छ, तिनीहरूको भविष्य राम्रो बनाउनुपरेन ? दुबईको अस्पतालमा क्लिनरको काम हो, भाषा जान्नै पर्दैन । दिनको ८ घन्टामात्र काम हो, बढी गरे ओभरटाइम आउँछ, हप्ताको एकदिन विदा । खान, बस्न अस्पतालले नै दिन्छ । तलब, ओभरटाइम सबै बचत । बरु तिम्रो राहदानी बनाउने पैसा म दिउँला । खालि तिमी अस्पतालमा काम गरेको प्रमाणपत्र मात्र तयार पार ।’ त्यति भनेपछि सुनमायाले घरमा सल्लाह गरिन् ।
अनि घरका सबैजना सुनमायालाई विदेश पठाउन राजी भए । त्यसपछि ती मामा भनाउँदाले सुनमायालाई दुबई पुर्याउन अर्को मान्छेको जिम्मा लगाए । ती मान्छेले सुनमायालाई सोझै दुबई जाने हवाइजहाजको टिकट महँंगो भएकोले दिल्ली हुँदै दुबई जाने भने । त्यही बेला यदि सुनमाया सतर्क हुँदी हुन् त उनले नारकीय जीवन भोग्नु पर्दैनथ्यो । तर राम्रो कमाइको लोभमा उनले केही भनिनन् र दिल्लीमा एकदिन राखेपछि त्यहाँबाट श्रीलंका लगी तीन दिन होटलमा राखेर उनलाई दुबई लगियो ।
दुबईमा एउटी नेपाली केटीले नै चलाएको एजेन्सीमा लगियो । त्यहाँ ५ दिनसम्म पनि काममा नलगेपछि उनले थाहा पाइन्, ‘उनलाई ती मामा भनाउँदा र अर्का व्यक्तिले १५ हजार दिराममा बेचेका रहेछन् । उनको लागि दुबईको कुनै अस्पतालमा काम रहेनछ, उनी त दुबईको एउटा शेखको घरको काम गर्नका लागि बेचिएकी रहिछन् । घरको काममा नजाने भन्दा सुनमायाले ती एजेन्सीमा काम गर्ने नेपाली महिलाबाट बेस्सरी पिटाइ खाइन् । त्यहाँबाट तिनलाई ओमानको एक एजेन्सीमा पठाइयो । यहाँ पनि दुर्भाग्यले साहै्र नराम्रा मालिकहरू पाइन् ।
दिनको पाँच घन्टा पनि सुत्न नपाउने, सुत्ने पनि चिसो भुइँमा एउटा तन्ना ओछ्याएर । घर मालिक्नीले जति काम गर्दा पनि काम राम्रो भएन, अरबी बोल्न आएन भन्दै कुट्ने गर्थिन् । त्यसपछि उनी भागेर दूतावासको शरणमा आइपुगिन् । दूतावास आइपुग्दा उनको अवस्था साहै्र नाजुक थियो । हात, खुट्टा, आँखाहरू सुन्निएका र शरीरभर थुप्रै निलडाम तथा घाउ, चोटपटक थिए । उनलाई मेडिकलको लागि लग्दा लेबर कार्ड नभएकोले नाम दर्ता गर्न नमिल्ने भनिए तापनि दूतावासको विशेष अनुरोधमा डाक्टरलाई देखाउँदा डाक्टरले पहिले पुलिस रिपोर्ट ल्याउन भनेको र पुलिस रिपोर्ट लिन
जाँदा मेडिकल रिपोर्ट माग्ने जस्ता अप्ठ्यारा परिस्थिति आएका थिए । त्यसपछि दूतावासले मालिकविरुद्ध श्रम अदालतमा उजुरी दिएपछि अहिले केस अदालतमा विचाराधीन छ । यहाँको श्रम अदालतमा केस लड्नका लागि धेरै समय र पैसाको आवश्यकता पर्छ ।
घटना–२ : प्रतिमा बस्नेत (नाम परिवर्तन), उमेर २५ वर्ष । काठमाडौंको एक सम्भ्रान्त परिवारकी कान्छी छोरी । उनी पढेलेखेकी, आधुनिक महिला । श्रीमान अमेरिकामा काम गर्दै । सिधा तरिकाले अमेरिका जान खोज्दा कठिनाइ आएपछि एउटा एजेन्टले कुर्दिस्तान हुँदै अमेरिका पठाइदिने आशा देखाए । अमेरिका जाने लोभमा कति पैसा तिरिन् र घर सल्लाह केही नगरी दिल्ली कुर्दिस्तान हुँदै अमेरिका पुग्ने यात्रामा हिँंडिन् । तर उनले अपनाएको गैरकानुनी बाटोले उनलाई कता लाँदैछ, अनुमान पनि गरेकी थिइनन् । उनलाई दिल्लीबाट श्रीलंका र त्यहाँबाट फेरि दुबई पुर्याइयो ।
दुबईमा १० दिन एउटा एजेन्सीमा राखियो, जहाँ दिनहँु २५/३० जना मानिस आउँथे कामदार छान्न । तिनलाई पनि दुई—चार जनाले मनपराएका थिए, तर उनी कुटाइ र पिटाइ खाँदै बसिन्, तर तिनीहरूका साथमा गइनन् । पछि उनलाई बेहोशीमै बोर्डर पार गराई ओमान पुर्याइयो । जति नाइनास्ती गर्दा पनि ओमानको एजेन्सीले उनलाई एउटा घरमा घरेलु कामदारको रूपमा १५ सय ओमानी रियाल लिई बेचिदियो । कता अमेरिकाको सपना बुन्दै हिँडेकी कता अर्काको घरको जुठो भाँडा माझ्न पुगिन् । ३/४ दिन बसेपछि तिनले काम नगर्ने ठहर गरी ती घर मालिकले पुन: त्यही एजेन्सीमा छोडिदिए र आफूले तिरेको पैसा मागे । उक्त एजेन्सीले त्यो रकम दिन नमानेपछि उनको पासपोर्ट नदिई फर्के र पासपोर्ट विना ती महिलालाई कसैले नलग्ने हुँदा सोही एजेन्सीमा करिब ६ महिनाजति बन्धक बनेर बस्नुपर्यो । त्यसपछि कता/कताबाट दूतावाससँंग सम्पर्क भएपछि दूतावासले करिब दुई महिनाको अथक प्रयासबाट त्यहाँबाट ल्याउन सफल भयो ।
नेपालबाट गैरकानुनी रूपमा आए तापनि दुबईदेखि ओमान भने कानुनी रूपमै आएका हुन्छन् र ओमानको कानुनअनुसार दुई वर्षको करारनामा नसकिएसम्म काम गर्नैपर्ने र बीचमा जानुपरेमा मालिकको सहमति नितान्तै आवश्यक हुन्छ । मालिकले हस्ताक्षर गरेको क्यान्सिल पेपर, पासपोर्ट तथा लेबर कार्ड देखाएपछि मात्र यहाँको अध्यागमन विभागले जाने अनुमति दिन्छ । अत: मालिकको सहमति पाउन यात दुई वर्ष काम गरेको हुनुपर्ने या मालिकले कतिमा किनेर ल्याएको हो, त्यो पैसा तिर्नुपर्ने बाध्यता हुन्छ । यही क्रममा दूतावासमा आएका चेलीहरूलाई उद्धार गरी नेपाल फिर्ता पठाउन केही समय लाग्ने गर्छ । किनकि नत दूतावाससंँग मालिकलाई तिर्ने रकम हुन्छ, न ती भागेर आएकी चेली या तिनीहरूको परिवारसँगै । दूतावासले विभिन्न निकायमा समन्वय गरी निज प्रतिमालाई सकुशल उद्धार गरी नेपाल फिर्ता पठायो ।
माथिका दुई विकराल उदाहरणले मानव तस्करीजस्तो जघन्य अपराध र अपराधीहरूमा अझै कुनै परिवर्तन आएको छैन । परिवर्तन छ त केवल अवस्था, स्थान तथा कारणहरू । नेपाल सरकारले महिलालाई पनि वैदेशिक रोजगार खुल्ला गरिदिएपछि मानव तस्करहरूका लागि यो पैसाको बोट उमार्ने मलिलो माटोसहितको अनुकूल वातावरण बनेको छ । अब मानव तस्करहरूको गन्तव्य भारतबाट खाडी मुलुकहरूतिर मोडिएको छ । आफ्नो देशमा भएको अपार इन्धन बेचेर धनी भएका खाडी मुलुकका शेखहरूका लागि घरेलु कामदारको रूपमा खाडीमा आफ्नो श्रममात्र बेच्ने प्रलोभनमा परेर थुप्रै नेपाली चेलीहरू खाडीमा वैदेशिक रोजगारका लागि आइपुगेका छन् । दुई वर्षयता नेपाल सरकारले खाडी मुलुकमा नेपाली घरेलु महिला कामदारले पाएको दु:खकष्ट देखेर ती मुलुकमा नेपाली महिला कामदार नपठाउने निर्णय गरेको थियो । तर आफ्नो जीवनस्तर सुधार्ने, आफ्ना अबोध सन्तानको भविष्य उज्ज्वल पार्ने जस्ता सपनाहरू बोकेका गरिब महिलाहरू सजिलै पँmस्छन् । तिनीहरू कतिसम्म सिधा हुन्छन् भने कुन देशमा कुन काममा या कुन कम्पनीमा जाने हो, कस्तो भिसा हो, केही बुझ्ने प्रयास गर्दैनन् । बरु मानव तस्करसँंग कसैले दाइ, कसैले मामा, काका अनि के—के नाता जोड्छन् । तिनै मानव तस्करहरूको भुलभुलैयामा विदेशको सुन्दर सपना बुन्दै पत्तै नभएको गन्तव्यतिर उड्छन् । अनि सुरु हुन्छ– उनीहरूको कहालीलाग्दो जीवन ।
देशको विद्यमान राजनीतिक, आर्थिक एवं सामाजिक अवस्था नै यसको प्रमुख कारण हो । महाभूकम्प, त्यसपछिको नाकाबन्दी अनि बेरोजगारीले गर्दा के अशिक्षित, के शिक्षित, के महिला, के पुरुष सबैको रोजगारी, आर्थिक आय आर्जनको सरल पथ नै वैदेशिक रोजगार भएको छ । नेपालबाट अझै वर्षेनि करिब १५ हजार बालबालिका तथा महिला विभिन्न देशमा तस्करी गरिँंदैछन् । नेपाल सरकारले कुनै ठोस कदम नचाल्ने हो भने यो संख्याले विकराल रूप लिन सक्छ । अत: महिलाका लागि सीपमूलक तथा आय आर्जनका कार्यक्रमहरू लागु गर्ने, देशमै रोजगारीको अवस्था सिर्जना गर्ने, सचेतना कार्यक्रम वृद्धि गर्ने, राहदानी बनाउन जिल्ला प्रशासन कार्यालयको सिफारिस लिने बेलादेखि नै मानव तस्करीबारे सचेत गराउने, खुल्ला नाकाहरूमा सशक्त पहरेदारी गर्ने, अध्यागमन विभागमा कडा जाँचबुझ गर्ने, दुबई–श्रीलंकाजस्ता देशमा भिजिट भिसामा जाने प्रक्रियालाई अविलम्ब कडाइ गर्ने, घरेलु कामदारका रूपमा महिलालाई खाडी मुलुकमा पठाउन म्यानपावर एजेन्सीहरूभन्दा सरकारी तवरबाटै पहल गर्ने, मानव तस्करहरूलाई कडा सजायको व्यवस्था र कार्यान्वयन गर्ने, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ मा व्यवस्था भएझैं नेपालभित्र वा बाहिर बसी वैदेशिक रोजगारको नाममा मानव बेचबिखन तथा ओसारपसार गर्नेहरूलाई सजायको व्यवस्था गर्ने, वैदेशिक रोजगारसँंग सम्बन्धित विभिन्न सरकारी निकायहरू (जस्तै— श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, नेपाल प्रहरी, नेपाली दूतावास, परराष्ट्र मन्त्रालय आदि तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय) बीच निरन्तर समन्वय गर्न एक संयन्त्र आवश्यक छ ।
ताम्राकार ओमानका लागि कार्यवाहक राजदूत हुन् ।

0 comments:
Post a Comment