Recent

Small combatants great struggle: ladaimsamgai Reading


‘तरबार भन्दा कलम बलियो वा कलम भन्दा तरबार बलियो’ यो विषयमा खुबै चर्चा हुन्थ्यो विद्यालयको वादविवाद कार्यक्रममा । कलम बलियो कि तरबार ? यो गहकिलो प्रश्न बाल मस्तिष्कले छुट्याउन नसके पनि कहिले कलमको पक्षमा तर्क पेश गर्नुपथ्र्यो भने कहिले तरबारको पक्षमा ।
जसरी भए पनि आफ्नो मत बलियो बनाउनुपर्ने भएकाले तरबारको पक्षमा आफ्नो विचार राख्दा तरबारलाई युद्ध साधनको पक्ष पोषण गर्दै धेरै विचार व्यक्त राख्नुभएको थियो अहिलेका वहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले । तर युद्धको परिणाम भयावह हुन्छ भन्ने थाहा हुँदा हुँदै पनि कलमलाई बिसाएर हतियार समाउला भन्ने उहाँले कहिल्यै सोच्नु भएको थिएन । तर परिस्थितिले तरबारको बिट समात्न पुगेका विष्टले युद्ध कौशल मात्र सिक्नुभएन । लडाइँ सँगसँगै पढाइलाई पनि निरन्तरता दिनुभयो । ‘ब्यारेकमा सैनिक अभ्यास गरेर मात्र पुगेन कमरेड, पढ्नु पनि पर्‍यो’ चितवनको शक्तिखोर शिविरमा बालसेना लेनिन विष्टले पढाइको प्रस्ताव गर्दा आफूभन्दा उच्च कमाण्डरले भन्थे ‘दुवै हातमा लड्डु मिल्दैन कमरेड, कि युद्ध रोज कि पढाइ ?’ नेताहरुको यस्तो जवाफ पाएपछि लेनिनले पढाइलाई निरन्तरता दिने वैकल्पिक उपायको खोजी गर्न थाल्नुभयो । ‘पहिला पो बुर्जुवा शिक्षा भनेर पढेनौं, सर्टिफिकेट नै प्राप्त गर्नका लागि वा सामाजिक ज्ञान आर्जनका लागि भएपनि पढ्नै पर्ने भयो ।’ तर यसपटक पनि उहाँको भनाईमा कमान्डर सहमत भएनन् । 
कमान्डर समक्ष राखेको प्रस्ताव पूरा नभएपछि उहाँले मनमनै सोच्नुभयो । कक्षा ५ पास गरेकै छु, अब प्राइभेट परीक्षा दिन्छु । उहाँले घर विदामा गएका बेला जिल्ला शिक्षा कार्यालय भक्तपुरमा कागजपत्र मिलाएर कक्षा ८ को परीक्षा दिनुभयो । त्यहाँबाट शिविर फर्केको केही दिनमा उहाँ जस्तै बाल सेनाहरुको दबाबबाट शिविरमै स्कुलसमेत खोलियो । लेनिनलगायतका थुप्रै बालसेनाले शिविरभित्रै ट्यूसन पढेर २०६५ सालमा एसएलसी परीक्षा दिए । कोही अनुत्रिर्ण भए तर लेनिनलाई हात लाग्यो दोश्रो श्रेणीको नतिजा । ६६ सालमा अयोग्य भन्दै शिविरबाट निकालिएपछि बनेपाको नाइटिंगेल एकेडेमीबाट प्लस टु पास गर्नुभयो भने प्रिमियर कलेज वानेश्वरबाट  बिबिएस । 
१४ वर्षअघि तत्कालिन संयुक्त राष्ट्रसंघीय नेपाल मिसन अनमिनले ४ हजार ८ जना लडाकुलाई अयोग्य भन्दै शिविरबाट निकाल्दा उनीहरुले १८ वर्ष पूरा गरेका थिएनन् । 
शिविरबाट अलग भएका कतिले त्यसपछि अध्ययनलाई निरन्तरता दिएका छन् । वहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टका अनुसार बहिगर्मित ४ हजारभन्दा बढी बालसेना मध्ये २ प्रतिशत जतिले मात्र स्नातक तथा स्नातकोत्तर तह पास गरेका छन् भने झण्डै ८ प्रतिशतले प्रवीणता प्रमाणपत्र तह र झण्डै ८५ प्रतिशत अण्डर एसएलसी छन् । 
‘हामीसँग व्यावहारिक शिक्षा छैन, जीवन उपयोगी तालिम छैन, समाजमा फर्किदा पनि कसरी समायोजन हुने भन्ने ज्ञान छैन, पढ्ने बेला बन्दुक समाउने कला सिकियो, त्यो बन्दुक समाउने सीप अहिले समाजमा काम लाग्दैन, शिक्षा लिने समय त गुज्रियो, तर राम्रो खालको तालिम दिएर समाजमा रुपान्तरण गर्न सकिन्छ नि ?’ लेनिनले भन्नुभयो । 
सशस्त्र द्वन्द्वका क्रममा बुर्जुवा शिक्षाको संज्ञा दिए पनि शिविरबाट आफ्नै गाउँ पाँचथरको आरुबोट पुगेपछि भीमबहादुर तामाङले थाहा पाउनुभयो ‘समाजमा आफू सरहका साथीभाइसँग समायोजन हुनका लागि पनि पढ्नै पर्ने रहेछ ।’ यही विचारले उहाँले पनि स्नातकसम्मको अध्ययन पूरा गर्नुभएको छ । लडाइँ र पढाइलाई सँगसँगै अघि बढाउन सफल तामाङ अहिले सामाजिक काममा पनि क्रियाशिल हुनुहुन्छ । तामाङ भन्नुहुन्छ ‘त्यत्ति चाँडो पढाइलाई निरन्तरता नदिएको भए आज समायोजन हुनका लागि निक्कै जटिल हुने रहेछ, भलै व्यावहारिक शिक्षा नहोला तर प्रमाणपत्र छ, जसले मलाई सामाजिक काम गर्न योग्य बनाएको महसुस गरेको छु । 
तर महिला लडाकुलाई भने फरक शारीरिक वनावट र पारिवारिक जिम्मेवारीले पनि  त्यत्ति सहज भएन । प्राइभेट एसएलसी दिएर कक्षा १२ मा अध्ययनरत रजनी तिमल्सिना भन्नुहुन्छ ‘बालबच्चा नहुँदा सम्म त पुरुष सँगै पढ्न सकिन्छ, तर अहिले बच्चालाई पढाउनु कि आफू पढ्नु ? अण्डर एसएलसी पनि सबैभन्दा बढी महिला लडाकु नै छन् ।’ 
अहिले पनि कतिपय साना लडाकु पढाइ र अधिकार प्राप्तिको आन्दोलनलाई सँगसँगै अघि बढाइरहेका छन् । अयोग्यको कुरा गर्दा बहिर्गमित लडाकु साझा स्वरमै भन्छन् । ‘हाम्रो योग्यताको परिक्षण गर्ने अधिकार कसले दियो ? सरकारले अयोग्यको बिल्ला भिराएपनि आज हामी जागिर खान मात्र होइन, जुनसुकै कामका लागि पनि योग्य छौं ।’  
शिविरभित्रै पढाइलाई निरन्तरता दिएका लडाकुलाई समाजमा पुनर्स्थापना हुन सजिलो भएपनि पढाईलाई अघि बढाउन नसकेका वहिर्गमित लडाकु अहिलेसम्म पनि पुनस्र्थापित हुन सकेका छैनन् । 
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment